धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिमलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। कैलाली उद्योग वाणिज्य सङ्घको ५२औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
मुख्यमन्त्री भट्टले प्रदेशमा रहेका सम्भावना र प्राकृतिक स्रोतसाधनको उचित उपयोग गर्दै उद्योग व्यवसायको विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन प्रदेश सरकार र निजी क्षेत्रबिच बलियो सहकार्य हुनुपर्ने बताए।
प्रदेश सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको उल्लेख गर्दै उनले भने, “हामी भर्खरै सरकारको नेतृत्वमा आएका छौँ र अहिले आगामी बजेट निर्माणको चरणमा छौँ। हाम्रो कार्यकाल जति हुन्छ, उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर परिणाममुखी काम गर्छौं।” उनले आगामी बजेटमार्फत निजी क्षेत्रमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।




