काठमाडौं । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुँदा डेरामा बस्ने नागरिक सबैभन्दा बढी मारमा परेका छन्। ग्यास नपाएपछि कतिपय घरधनीले छतमा दाउरा बालेर खाना पकाउने गरे पनि कोठा कालो हुने बहानामा डेरावाललाई स्टोभ, मट्टितेल वा दाउराजस्ता वैकल्पिक इन्धन प्रयोग गर्न रोक लगाएका छन्।
सरकारले ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार १६५ रुपियाँ तोकेको भए पनि अभावको मौका छोपेर बजारमा चार हजारदेखि चार हजार ५०० रुपियाँसम्म असुल्ने गरिएको उपभोक्ताको गुनासो छ। नयाँ सिलिन्डरसहित खरिद गर्दा करिब साढे सात हजार रुपियाँ खर्चिनुपर्ने अवस्था छ। ग्यासको अभावसँगै इन्डक्सन चुलोको मूल्यसमेत अस्वाभाविक रूपमा वृद्धि गरिएको छ। महँगो ग्यास र इन्डक्सन खरिद गर्न नसक्ने कतिपय डेरावाल चिउरा र दालमोठ खाएर दिन गुजार्न बाध्य छन्।
यस सङ्कटले उपत्यकाको घरबहाल व्यवस्थापन र डेरावालको समस्यालाई पुनः सतहमा ल्याएको छ। महिनाको सात हजारदेखि ३० हजार रुपियाँसम्म कोठा भाडा, पार्किङ शुल्क तीन हजारदेखि १० हजार तथा नेपाल विद्युत् प्राधिकरणको दरभन्दा दोब्बर–तेब्बर प्रतियुनिट १८ देखि ३० रुपियाँसम्म असुलेर पनि घरधनीले सङ्कटका बेला न्यूनतम मानवीय सुविधा नदिएको डेरावालहरूको गुनासो छ।
यसैगरी, लाखौँ भाडा उठाउने घरधनीहरूले स्थानीय तहलाई घरबहाल कर नतिर्ने, भाडा तिरेको बिल नदिने र व्यवसाय दर्ता गर्न सिफारिस नदिने गरेको पाइएको छ। सूर्यविनायक र सल्लाघारी क्षेत्रका व्यवसायी तथा डेरावालले लामो समयदेखि व्यवसाय दर्ता गर्न नपाएको र भाडा वृद्धि भए पनि कर छली भइरहेको बताएका छन्। डेरावाल तथा व्यवसायीहरूले स्थानीय तहलाई तत्काल घरबहाल अनुगमन प्रभावकारी बनाउन र सङ्कटको समयमा वैकल्पिक इन्धन प्रयोगको वातावरण मिलाउन माग गरेका छन्।




