आगामी साता देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन मौसमविद्को आग्रह

प्रकाशित मिति:

काठमाडौँ । आगामी साता नेपालमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएको भन्दै मौसमविद्हरूले बाढी, पहिरो र डुबानको जोखिमबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। उत्तर अन्डमन सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सरिरहेकाले आगामी दिनमा यसको प्रत्यक्ष असर नेपालमा देखिने सम्भावना छ।

त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक विनोद पोखरेलका अनुसार अन्तर्राष्ट्रिय मौसमी मोडलहरूले आगामी साता भारी वर्षाको सम्भावना देखाएका छन्। कतिपय मोडलहरूले ४०० देखि ७४१ मिलिमिटरसम्मको अत्यधिक वर्षाको प्रक्षेपण गरेकाले प्राकृतिक विपत्तिको गम्भीर जोखिम निम्तिन सक्ने चेतावनी उनले दिएका छन्।

मौसमविद्हरूका अनुसार विशेषगरी असोज ८ देखि १२ गतेसम्म बङ्गालको खाडीबाट भित्रिने जलवाष्पयुक्त प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीच अन्तरक्रिया हुने देखिएको छ। यी दुई प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा भारी वर्षा गराउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

ताजा समाचार