एसियन गेम्स पुरुष क्रिकेट : अफगानिस्तानमाथि नेपालको पाँच विकेटको शानदार जित

प्रकाशित मिति:

काठमाडौं । जापानमा जारी एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले शानदार सुरुआत गर्दै बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा सम्पन्न समूह ‘ए’ को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो। नेपाली स्पिनर कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिनुभयो भने ललित राजवंशीले ३ विकेट हात पार्नुभयो। अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले समान ३०–३० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान नेपाली बलिङसामु टिक्न सकेनन्।

जितका लागि प्राप्त १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा सजिलै पूरा गर्‍यो। नेपालको जितमा सन्दीप जोराले ३४ रन तथा कप्तान रोहित पौडेलले अविजित ३३ रनको महत्त्वपूर्ण योगदान दिनुभयो। समूह चरणको पहिलो खेलमै अफगानिस्तानजस्तो बलियो टोलीलाई पराजित गरेसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनेको छ।

ताजा समाचार