कञ्चनपुरको बेलडाँडीमा अचेत भेटिएका युवकको मृत्यु, पहिचान खुल्यो

प्रकाशित मिति:

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडीमा आइतबार राति सडक किनारमा अचेत अवस्थामा भेटिएका एक युवकको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको छ।

मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–२, बङ्क निवासी २७ वर्षीय महेश धामी रहेका छन्। आइतबार राति बेलडाँडी गाउँपालिका–२, क्याम्प नजिक सडक किनारमा उनी अचेत अवस्थामा लडिरहेको देखेपछि स्थानीयवासीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडी पुर्‍याएका थिए।

स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि पनि अवस्था गम्भीर रहेकाले उनलाई सोमबार बिहान थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ। हाल उनको शव परीक्षण (पोस्टमार्टम) का लागि अस्पतालमै राखिएको छ।

सुरुवाती अवस्थामा पहिचान नखुले पनि पछि प्रहरीले उनको सनाखत गरेको हो। प्रहरीका अनुसार रोजगारीको सिलसिलामा भारतमा रहँदै आएका धामी एक साताअघि मात्रै घर फर्किएका थिए। उनका आफन्तहरू बेलडाँडी गाउँपालिका–५, झिलमिलामा बस्दै आएका छन्। झिलमिलाको घरजग्गा बिक्री गरी परिवारसहित भारतमै बस्दै आएका उनीहरू पछिल्लो समय कृष्णपुरको बङ्कमा अस्थायी घर बनाएर बसोबास गर्दै आएको खुलेको छ।

ताजा समाचार