विराटनगरको सीमावर्ती क्षेत्रमा एसएसबीको कुटपिट : नेपाली युवकलाई दशगजाबाट तानेर भारततर्फ लगियो

प्रकाशित मिति:

विराटनगर। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले मोरङको विराटनगरस्थित सीमावर्ती क्षेत्रमा एक नेपाली युवकमाथि कुटपिट गरेको छ। भारतबाट नेपालतर्फ आउने क्रममा विवाद भएपछि एसएसबीले विराटनगर महानगरपालिका–२ का २८ वर्षीय अनुज कामतलाई कुटपिट गरेको हो।

घटना गत शनिबारको हो। भारततर्फबाट नेपाल फर्किने क्रममा दरैया सीमावर्ती क्षेत्रमा एसएसबीको टोलीसँग कामतको विवाद भएको थियो। विवादका क्रममा कामतले एसएसबीका जवानलाई लक्ष्य गरी ढुङ्गा प्रहार गरेका थिए, जुन जवानलाई लागेको थियो। त्यसपछि उनी नेपालतर्फ भागेर आएका भए पनि एसएसबीको टोलीले उनलाई दशगजातर्फ तानेर नियन्त्रणमा लिएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एसएसबीको टोलीले कामतलाई लाठीले कुट्दै भारततर्फ लगेको देखिएको छ। घटनाको समयमा घटनास्थलमै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत उपस्थित रहेको बुझिएको छ। केही समय भारततर्फ राखेर कुटपिट गरेपछि एसएसबीले कामतलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो।

इलाका प्रहरी कार्यालय रानीले उनलाई एक दिन नियन्त्रणमा राखेर आइतबार श्रीमतीको रोहबरमा आफन्तको जिम्मा लगाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार युवक कामत लागूऔषध प्रयोगकर्ता हुन् र एसएसबीसँग विवाद हुँदा उनी सामान्य अवस्थामा नरहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार