मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी सीमा गड्डाचौकी नाका भएर हुने नेपाल–भारत आवागमन आजदेखि सहज बनेको छ। लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेपछि दुई दिनदेखि शारदा ब्यारेज (बनवासा पुल) मा लगाइएको चारपाङ्ग्रे सवारीसाधनको रोक हटेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार महाकाली नदीमा पानीको बहाव घटेसँगै बनवासा पुल पूर्ण रूपमा सञ्चालनमा आएको हो। नदीमा बहाव घटेर ९८ हजार क्युसेक मापन गरिएपछि सवारी आवागमन खुला गरिएको प्रहरीले जनाएको छ। भारतीय पक्षले पुल पुरानो र जीर्ण भएको जनाउँदै बहाव एक लाख क्युसेक नाघ्नेबित्तिकै चारपाङ्ग्रे तथा ठूला सवारी आवागमनमा रोक लगाउने गरेको छ।

यसैबीच, वर्षा रोकिएर मौसममा सुधार आएसँगै कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ, पोखरालगायतका लामो दूरी तथा सुदूरपश्चिमका पहाडी जिल्लाहरूका लागि यातायात सेवा सञ्चालन भएको छ। महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नवीन भट्टका अनुसार वर्षा र बाटो अवरुद्ध हुँदा काठमाडौँतर्फ जाने बस चार दिनदेखि र पहाडी जिल्लातर्फ जाने यातायात तीन दिनदेखि रोकिएका थिए। आजदेखि रोकिएका सम्पूर्ण सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्।

ताजा समाचार