चर्चित गायिका रचना रिमालले संगीत र राजनीतिशास्त्रमा पूरा गरिन् चार वर्षे स्नातक अध्ययन

प्रकाशित मिति:

काठमाडौं । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले मानविकी सङ्कायअन्तर्गत स्नातक तह (बी.ए.) को चार वर्षे अध्ययन सफलतापूर्वक पूरा गरेकी छन्। काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसबाट उनले स्नातक तह उत्तीर्ण गरेकी हुन्।

केही दिनअघि त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्नातक तह चौथो वर्षको नतिजामा प्राविधिक त्रुटिका कारण रचनालगायत केही विद्यार्थीको विवरणमा ‘अनुपस्थित’ (एब्सेन्ट) देखिएको थियो। क्याम्पस प्रशासन र परीक्षा नियन्त्रण कार्यालयको समन्वयमा उक्त त्रुटि सच्याइएपछि आएको अन्तिम नतिजामा आफू सम्पूर्ण विषयहरूमा उत्तीर्ण भएको गायिका रिमालले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। उनले स्नातक तहमा ‘संगीत’ र ‘राजनीतिशास्त्र’ मुख्य विषय लिएर अध्ययन गरेकी थिइन्।

साङ्गीतिक व्यस्तता र निरन्तरको साङ्गीतिक यात्राका बीच पनि पढाइलाई थाती नराखी लक्ष्य हासिल गर्न सकेकोमा उनले खुसी व्यक्त गरेकी छन्। आफ्नो पढाइको यात्रा यहीँ सीमित नरहने स्पष्ट पार्दै उनले संगीत साधनाका साथसाथै आगामी दिनमा स्नातकोत्तर तहको उच्च शिक्षालाई समेत अघि बढाउने सोच बनाएको बताएकी छन्।

ताजा समाचार