काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन्। नेपालमा आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका राजदूत श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर शिष्टाचार बिदाइ भेट गरेका हुन्।
भेटका अवसरमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको चर्चा गरे। उनले हालै नेपालमा आएको बाढीपहिरो तथा प्राकृतिक विपद्को कठिन समयमा भारत सरकारबाट प्राप्त मानवीय सहयोग तथा सद्भावका लागि विशेष धन्यवाद ज्ञापन गरे। साथै, प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा बधाई दिँदै उनको आगामी व्यक्तिगत तथा कूटनीतिक जीवनको सफलताका लागि शुभकामना व्यक्त गरे।
त्यस क्रममा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै महत्त्वपूर्ण विकास परियोजनाहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए। उनले नेपाल बसाइका क्रममा आफूलाई निरन्तर सहयोग, सद्भाव र सहकार्य उपलब्ध गराएकोमा नेपाल सरकार तथा आम नेपाली जनताप्रति विशेष आभार एवं कृतज्ञता प्रकट गरे।




