महेन्द्रनगर । कञ्चनपुर प्रहरीले मध्यराति जुवाखालमा छापा मारी पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्लाको पुनर्वास नगरपालिका–१, पुरैनानजिक जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा कैलालीको गौरीगङ्गा नगरपालिका–४, राजीपुरका जगतबहादुर धामी, धनगढी उपमहानगरपालिका–४ का विक्रम विष्ट र धनगढी–१२, जुगेडाका प्रेमबहादुर सिंह रहेका छन्। त्यस्तै बझाङको बुङ्गल नगरपालिका–११ का कृष्ण बाहेरा र पुनर्वास नगरपालिका–१, बलभद्रबस्तीका सुरेश तामाङ पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट नगद २० हजार ९१० रुपियाँ बरामद गरेको जनाएको छ। मध्यराति प्रहरी टोली पुगेपछि जुवाखालमा रहेका अन्य व्यक्तिहरू भने कार, स्कुटर तथा मोटरसाइकल छाडेर भाग्न सफल भएका थिए।
छाडिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरार व्यक्तिहरूको खोजी तीव्र पारिनुका साथै पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




