काठमाडौँ — नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा दुई देशबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा बस्दैछ।
नियमित परामर्श तथा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले सन् १९९५ मा हस्ताक्षरित प्रोटोकल अनुसार यो संयन्त्रको बैठक बस्न लागेको हो। यसअघि पहिलो बैठक सन् २००७ मा मस्कोमा र दोस्रो बैठक २०१८ अप्रिल १७ मा काठमाडौंमा भएको थियो।
आजको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले र रुसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्दैछन्।
बैठकमा नेपाल–रुस सम्बन्धको समग्र अवस्थाको समीक्षाका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोगलगायतका क्षेत्रमा सहकार्य विस्तारबारे विस्तृत छलफल हुनेछ। साथै, नेपाली नागरिक रुसी सेनामा भर्ती भएको विषय, युद्धका क्रममा बेपत्ता भएका तथा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने विषयलाई पनि नेपाली पक्षले बैठकमा प्रमुखताका साथ उठाउने तयारी गरेको छ।
यसैबीच, उपविदेशमन्त्री रुडेन्कोले मङ्गलबार साँझ काठमाडौंस्थित रुसी दूतावासले आयोजना गरेको ‘ओपन डाइलग’ कार्यक्रममा नेपालमा हालैको बाढीपहिरोले पुर्याएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। रुस स्वयं विभिन्न चुनौतीहरूसँग जुधिरहेको भए पनि विपद्को यस घडीमा क्षमताअनुसार नेपाललाई सहयोग गर्न तयार रहेको उनले बताए।
सो क्रममा उपविदेशमन्त्री रुडेन्कोले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे नेपालले उठाएको आवाजको प्रशंसा गर्दै यो विश्वकै लागि ‘अलार्म बेल’ भएको टिप्पणी गरे। उनले आगामी शैक्षिक वर्षमा नेपाली विद्यार्थीका लागि ५२ वटा छात्रवृत्ति कोटा उपलब्ध गराउने घोषणा गर्दै शिक्षा र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।




