कञ्चनपुरको वेदकोटबाट करिब १७ लाख मूल्य बराबरको अवैध पटाका बरामद

प्रकाशित मिति:

महेन्द्रनगर

चाडपर्व नजिकिँदै गर्दा कञ्चनपुर प्रहरीले जिल्लाको वेदकोट नगरपालिकाबाट ठूलो परिमाणमा प्रतिबन्धित अवैध पटाका बरामद गरेको छ।

विशेष गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेदकोट नगरपालिका–७, गाउजी क्षेत्रबाट १६ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरको अवैध पटाका नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक विक्रमबहादुर शाहीको कमाण्डमा मंगलबार पुगेको टोलीले गाउजीस्थित एक स्थानमा लुकाइछिपाइ भण्डारण गरी राखिएको अवस्थामा विभिन्न ब्राण्ड र प्रकारका पटाकाहरू फेला पारेको थियो। भारतबाट भन्सार छली गरी गैरकानुनी रूपमा नेपाल भित्र्याइएको हुनसक्ने अनुमान गरिएको उक्त विष्फोटकजन्य पटाकाहरू बरामद गरी जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइएको छ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिनुका साथै यसबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिएका छन्। चाडपर्वका बेला सीमावर्ती क्षेत्रबाट हुनसक्ने यस्ता अवैध वस्तुको ओसारपसार नियन्त्रण गर्न सीमानाका तथा स्थानीय बजारहरूमा सुरक्षा निगरानी थप कडा पारिएको प्रहरीले जनाएको छ।

ताजा समाचार