गुल्मी–
गुल्मीको धुर्कोट गाउँपालिकामा खेतमा पानी लगाउन गएका एक युवक करेन्ट लागेर मृत अवस्थामा फेला परेका छन्।
धुर्कोट गाउँपालिका–५, अँधेरी निवासी २४ वर्षीय ऋषिराम भण्डारी बुधबार बिहान सिमलचौरस्थित आफ्नै खेतमा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार भण्डारी मंगलबार दिउँसो खेतमा सिँचाइ गर्न गएपछि परिवारको सम्पर्क बाहिर रहेका थिए। राति अबेरसम्म पनि घर नफर्किएपछि आफन्त तथा स्थानीयवासीले उनको खोजी सुरु गरेका थिए। खोजतलास गर्ने क्रममा बुधबार बिहान खेत नजिकै उनी मृत अवस्थामा फेला परेका हुन्।
विद्युत् पोलबाट लत्रिएको नाङ्गो तारमा परेर उनलाई करेन्ट लागेको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।




