दसैँ लक्षित लामो दूरीको अग्रिम टिकट बुकिङ शुक्रबारदेखि खुल्ने, देशभर रुट परमिट खुला

प्रकाशित मिति:

काठमाडौँ —

दसैँलाई लक्षित गरी लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आगामी शुक्रबारदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मङ्गलबार सरोकारवाला निकाय तथा यातायात व्यवसायीहरूबीच बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो। विगतका वर्षहरूमा दसैँ आउनुभन्दा एक महिनाअगावै टिकट खुल्ने गरे पनि यस वर्ष वर्षा र बाढीपहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएकाले निर्णयमा केही ढिलाइ भएको हो। विभागका निर्देशक एवं सूचना अधिकारी केशव खतिवडाका अनुसार भत्किएका सडक मर्मतसम्भार गरी ट्रयाक खोलेरै भए पनि यातायात सहज रूपमा सञ्चालन गर्ने सहमति जुटेपछि अग्रिम बुकिङ खुला गरिएको हो।

बैठकले घटस्थापना (असोज २५ गते) देखि कोजाग्रत पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ। तर बाटोको प्रकृतिका कारण निषेध गरिएका आकार–प्रकारका सवारीसाधनमा भने बन्देज कायमै रहनेछ। यसैगरी चाडपर्वमा सडक आवागमन सहज बनाउन घटस्थापनादेखि पूर्णिमा (असोज २५ देखि कात्तिक ८ गते) सम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ। खाद्यान्न, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन भने निर्वाध रूपमा चल्न पाउनेछन्।

यात्रु सुरक्षालाई मध्यनजर गर्दै लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने, सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रक उपकरण र पिउने पानीको व्यवस्था मिलाउनुपर्ने निर्देशन दिइएको छ। टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र पोसाक लगाउनुपर्नेछ भने यात्रुको नाम र सम्पर्क नम्बरको अभिलेख राख्नुपर्नेछ। चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने वा कालोबजारी गर्नेलाई कडा कानुनी कारबाही गरिने र शङ्कास्पद अवस्था देखिए तत्काल ट्राफिक प्रहरीमा खबर गर्न विभागले यात्रुहरूलाई आग्रह गरेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाका अनुसार नयाँ बसपार्क, चाबहिल, बल्खु र कोटेश्वर लगायतका आधिकारिक काउन्टरहरूबाट यात्रुले अग्रिम टिकट लिन सक्नेछन्। विगतमा १८ देखि २० लाख यात्रु बाहिरिने गरेकामा यस पटक भने करिब १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। सडक अझै पनि जोखिमपूर्ण अवस्थामा रहेकाले बाटो खुलाउन डोजरहरू तयारी अवस्थामा राख्ने, काठमाडौँका विभिन्न स्थानमा १४ वटा नागरिक सहायता कक्ष स्थापना गर्ने तथा दुर्घटना र राजमार्ग अवरोधको छिटो जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

ताजा समाचार