काठमाडौं । भारतीय चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित डोना पाउलाको आफ्नै अपार्टमेन्टमा बिहीबार बिहान हृदयाघात भएपछि निजी अस्पताल पुर्याइएका पाटेकरको उपचारका क्रममा निधन भएको हो। चिकित्सकहरूले लगातार ४५ मिनेटसम्म सीपीआर दिए पनि उनलाई बचाउन नसकिएको जनाएका छन्। उनका छोरा मल्हार पाटेकरले निधनको पुष्टि गरेका छन्।
पाँच दशकभन्दा लामो अभिनय यात्रामा हिन्दी तथा मराठी चलचित्रमा सशक्त छाप छोडेका पाटेकर अभिनयका साथै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय थिए। उनले ‘नाम फाउन्डेसन’मार्फत महाराष्ट्रका पीडित किसान तथा ग्रामीण क्षेत्रमा जल संरक्षणका लागि ठूलो योगदान पुर्याएका थिए। पछिल्लो समय उनी विशाल भारद्वाजको चलचित्र ‘ओ’रोमियो’, ‘सुबेदार’ तथा प्रकाश झाको वेब सिरिज ‘संकल्प’मा देखिएका थिए। उनको निधनप्रति केन्द्रीय मन्त्री नितिन गडकरी, वरिष्ठ सञ्चारकर्मी तथा चलचित्रकर्मीहरूले गहिरो दुःख व्यक्त गर्दै भारतीय सिनेमा जगतका लागि अपूरणीय क्षति भनेका छन्।




