काठमाडौं । सरकारले दसैँ, तिहार तथा छठलगायतका चाडपर्वका बेला स्वास्थ्य, खानेपानी, विद्युत्, दूरसञ्चार, विमानस्थल, यातायात र अस्पतालजस्ता अत्यावश्यक सेवा निर्वाध सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार भेटघाटमा सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले पर्वको अवधिमा नागरिकले सास्ती बेहोर्न नपरोस् भन्ने उद्देश्यले यस्तो निर्देशन दिइएको जानकारी दिए। उनका अनुसार चाडबाडका बेला कुनै पनि अत्यावश्यक सेवामा अवरोध हुन नदिन आवश्यक जनशक्ति, औषधि, उपकरण र आकस्मिक सेवा पूर्ण तयारी अवस्थामा राख्न सम्बन्धित सबै निकायलाई पत्राचार गरिसकिएको छ।
यसैबीच सरकारले मुलुकमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीसम्बन्धी सेवालाई थप सरल, पारदर्शी, समयबद्ध र पूर्वानुमानयोग्य बनाउने तयारी थालेको छ। यसका लागि ‘राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि’को मस्यौदा निर्माण भइरहेको र यसले लगानी प्रक्रियालाई व्यवस्थित बनाउन ठूलो सहयोग पुर्याउने विश्वास लिइएको प्रवक्ता अर्यालले बताए।




