कञ्चनपुर । चाडपर्वको अवसरमा घुमघाम गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ।
वर्षायामका कारण निकुञ्जका सबै पैदलमार्ग तथा सडकहरू तत्काल खुला गर्न नसकिए पनि दसैँ–तिहारका आगन्तुकका लागि मङ्गलबारदेखि मुख्य पर्यटकीय रुट सञ्चालनमा ल्याइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो। उहाँका अनुसार पर्यटकका लागि मझगाउँदेखि बाबाताल, रानीताल हुँदै विशाल घाँसे मैदान र त्यहाँबाट बर्कौला भएर पुनः मझगाउँ निस्किने रुट सफारीका लागि खुल्ला गरिएको छ। वर्षा रोकिएको एक साताभित्र निकुञ्जका अन्य भित्री रुटहरू पनि सुचारु गरिने बताइएको छ।
३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज विशेषगरी पाटेबाघ र बाह्रसिङ्गाका लागि प्रसिद्ध छ। हाल निकुञ्जको विशाल घाँसे मैदानमा दुई हजार ३०० बाह्रसिङ्गा र ५० वटा पाटेबाघ रहेका छन्। आगन्तुकको सहजताका लागि निकुञ्ज प्रशासनले फाँटाको २० हेक्टर क्षेत्रफलमा घाँस व्यवस्थापनको कार्यसमेत अगाडि बढाइरहेको छ।





