धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बाजुरास्थित प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा केबुलकार सञ्चालनको सम्भाव्यता अध्ययनका लागि तीन करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ। प्रदेशसभामा प्रस्तुत चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटमार्फत उक्त रकम विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभएको हो। यस क्षेत्रमा सार्वजनिक तथा निजी साझेदारी (बुट) मोडेलअन्तर्गत केबुलकार सञ्चालनको प्रक्रिया अघि बढाउनुका साथै विद्युत् लाइन विस्तारसमेत गरिने योजना छ।
त्यसैगरी, चार जिल्लाको सङ्गमस्थल खप्तड राष्ट्रिय निकुञ्जअन्तर्गत त्रिवेणीधाममा प्यागोडा शैलीको मन्दिर, ‘गोल्डेन ब्रिज’ तथा विद्युत् विस्तारलगायत पूर्वाधार विकास गर्न छ करोड १० लाख रुपियाँ छुट्याइएको छ। विद्युतीकरण नहुँदा खप्तडमा खटिएका सुरक्षाकर्मी र पर्यटकले भोग्दै आएको समस्या यसबाट समाधान हुने अपेक्षा गरिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ, बाजुराको बूढीनन्दा नगरपालिकास्थित कोल्टी आधारभूत अस्पताल र दार्चुलाको गोकुलेश्वर अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न छ करोड रुपियाँ बजेट व्यवस्था गरिएको छ। छिमेकी जिल्ला मुगु, हुम्ला र कालीकोटका बिरामीसमेत उपचारका लागि आउने कोल्टी अस्पतालको स्तरोन्नति भएसँगै दुर्गम क्षेत्रका नागरिकले आफ्नै भूगोलमा विशेषज्ञ सेवा पाउने भएका छन्।





