काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क ताइ योङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा दुई देशबीचको घनिष्ठ सम्बन्ध तथा आपसी हित र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ।
भेटका क्रममा मन्त्री मेहताले भोटेकोशी बाढी प्रभावित क्षेत्रको खोज, उद्धार तथा राहत कार्यमा गणतन्त्र कोरिया सरकारले पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। त्यसैगरी कोरियामा कार्यरत नेपाली नागरिकको स्वास्थ्य उपचार, नेपालमा मेडिकल टुरिजमको सम्भावना, स्वास्थ्य बिमाको प्रभावकारिता, डिजिटल हेल्थ प्रणाली, नसर्ने रोगको रोकथाम तथा व्यवस्थापन, रेडिएसन थेरापी सेवा र अस्पतालहरूको स्तरोन्नतिलगायत स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सहकार्य विस्तार गर्नेबारे छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
सो अवसरमा कोरियाली राजदूत पार्क ताइ योङले नेपाल सरकारका प्राथमिकता प्राप्त विकास तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउन गणतन्त्र कोरिया सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।





