धनगढी । सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ। सरकारले मङ्गलबार दिउँसो प्रदेशसभा बैठक आह्वान गरी बजेट पारित गर्ने तयारी गरे पनि कांग्रेसले बैठकमा सहभागी नहुने घोषणा गरेको हो।
बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षसँग आवश्यक समन्वय नगरेकाले मङ्गलबारदेखि प्रदेशसभाका सबै बैठक बहिष्कार गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए।
यसैबीच सत्तारूढ दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र भने बजेट संशोधन र संसदीय छानबिन समिति गठन गर्ने सहमति जुटेको छ। मङ्गलबार बसेको नेकपा संसदीय दलको बैठकले आइतबार प्रस्तुत ३७ अर्ब ७० करोड रुपियाँको बजेट पारित गर्ने, विवादित विषयमा छानबिन समिति बनाउने र आगामी कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने निर्णय गरेको छ।





