काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टीका सांसद खगेन्द्र सुनार जोडिएको विवादित अडियो प्रकरणको छानबिन सुरु गरेको छ। पार्टी महामन्त्री विपिनकुमार आचार्यले मङ्गलबार विज्ञप्ति जारी गर्दै सुनारमाथि लागेको आरोप गम्भीर प्रकृतिको रहेको जनाएका छन्।
अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार घटनासँग सम्बन्धित सम्पूर्ण प्रमाणहरू सङ्कलन गर्ने काम सुरु भइसकेको छ। आयोगले सांसद सुनार र नाम जोडिएकी महिला दुवै पक्षसँग कुरा गर्ने प्रयास गरिरहेको छ। अडियोको प्राविधिक परीक्षण र तथ्यहरूको प्रमाणीकरण गरेर यथाशीघ्र निष्कर्षमा पुग्ने आयोगको तयारी छ। हाल सांसद सुनार काठमाडौँ बाहिर छन्।
यसैबीच रास्वपा संसदीय दलले पनि अडियो प्रकरणलाई गम्भीर रूपमा लिएको जनाएको छ। दलका प्रमुख सचेतक प्रकाशचन्द्र परियारले पार्टीले सधैँ विधिको शासनलाई पछ्याउने बताउँदै गलत क्रियाकलाप गर्ने जो-कसैलाई पनि संरक्षण नगर्ने स्पष्ट पारेका छन्। अडियो सम्बन्धित व्यक्तिकै भएको पुष्टि भए पार्टी कुनै व्यक्तिको बचाउमा नलाग्ने उनले बताएका छन्।





