धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक मङ्गलबार दोस्रो पटक सारिएको छ। चालु आर्थिक वर्षको बजेटमाथिको छलफल बहिष्कार गर्ने निर्णय गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सहमतिमा ल्याउन सरकारले संवाद थालेपछि बैठक सरेको हो।
मङ्गलबार बिहान ९ बजेका लागि तय भएको बैठक पहिले दिउँसो १ बजेसम्म सारिएको थियो। तर, दिउँसो १ बजे पनि दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक साँझ ५ बजेका लागि सारिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी ताराकुमारी जोशीले जानकारी दिएकी छन्।
बजेट उपयुक्त नभएको र सरकारले समन्वय नगरेको भन्दै कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सदन बहिष्कार गर्ने घोषणा गरेका थिए। सरकार भने प्रतिपक्षलाई समेत सहमतिमा ल्याएर बजेट पारित गर्ने गृहकार्यमा छ। यसअघि सत्तारूढ नेकपाले विवादित विषय छानबिन गर्न संसदीय समिति गठन गर्ने र कात्तिक १५ भित्र पूरक बजेट ल्याउने आन्तरिक सहमति गरिसकेको छ।





