विद्यार्थी सुरक्षा र बजार अनुगमनमा जोड दिँदै अखिल क्रान्तिकारीको ज्ञापनपत्र

प्रकाशित मिति:
spot_img

कञ्चनपुर- अखिल क्रान्तिकारी कञ्चनपुरले विद्यार्थी सुरक्षा, बजार अनुगमन तथा सीमा क्षेत्रमा हुने चोरीतस्करी नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई पाँचबुँदे ज्ञापनपत्र बुझाएको छ।

मंगलबार संगठनले प्रमुख जिल्ला अधिकारी मदन कोइरालालाई ज्ञापनपत्र बुझाउँदै जिल्लामा देखिएका शैक्षिक बेथिति, सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत र बजारमा हुने कालोबजारीलगायतका समस्या समाधान गर्न प्रशासनको ध्यानाकर्षण गराएको हो।

अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दलबहादुर धामी (अविरल) ले जिल्लाका शैक्षिकलगायत विभिन्न क्षेत्रमा बेथिति बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि प्रशासनले प्रभावकारी कदम चाल्नुपर्ने बताए।

ज्ञापनपत्रको पहिलो बुँदामा जिल्लाभर मापदण्डविपरीत विद्यालय बस सञ्चालन भइरहेको विषय उठाइएको छ। यस्ता बसका कारण दुर्घटना हुँदा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भन्दै संगठनले अनुगमन तथा नियमन गरी मापदण्डविपरीत सञ्चालित बस नियन्त्रण गर्न माग गरेको छ।

त्यस्तै, सार्वजनिक यातायातमा विद्यार्थीलाई दिइने सहुलियत भाडा कार्यान्वयन गर्न, दसैँ–तिहारका बेला हुने मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न, सरकारी सवारीसाधनको दुरुपयोग रोक्न र सीमा क्षेत्रमा बढ्दो चोरीतस्करी नियन्त्रण गर्न संगठनले माग गरेको छ।

अखिल क्रान्तिकारी केन्द्रीय निर्वाचन आयोगका उपमहासचिव भुवनसिंह विष्टले जिल्लाको शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्न प्रशासन तत्काल सक्रिय हुनुपर्ने बताए। विद्यार्थीको भविष्यसँग जोडिएका समस्यालाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्न उनले प्रशासनको ध्यानाकर्षण गराए।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले संगठनले उठाएका विषयमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको बताए। उनले सम्बन्धित निकायमार्फत आवश्यक अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए।

विद्यार्थीको सुरक्षा र भविष्यसँग प्रत्यक्ष जोडिएका विषयमा प्रशासन गम्भीर बन्नुपर्नेमा जोड दिँदै अखिल क्रान्तिकारीले ज्ञापनपत्रमा उल्लेखित माग कार्यान्वयनका लागि प्रभावकारी पहल गर्न आग्रह गरेको छ।

ताजा समाचार