इलाम । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा २५ औँ अनसनमा रहेका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिँदै छ। श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई आइतबार रातिदेखि नै अक्सिजन दिएर उपचार सुरु गरिएको थियो।
इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरका अनुसार डा. केसीको स्वास्थ्य थप नाजुक र जोखिमपूर्ण बन्दै गएपछि सङ्घीय तथा प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न लागिएको हो। सोमबार बिहान अस्पतालले दिएको विवरण अनुसार उनको रक्तचाप १००/६० र पल्स प्रतिमिनेट ९० देखि १०० रहेको छ। चिकित्सकहरूले निरन्तरको निगरानी र सघन उपचारका लागि उनलाई उच्चस्तरीय स्वास्थ्य संस्थामा तत्काल लैजान सिफारिस गरेका थिए।

पाँच दिनदेखि अनसनरत डा. केसीले चिकित्सा शिक्षा सुधारका लागि ६ बुँदे माग अघि सारेका छन्। उनका मागहरूमा न्यूनतम पूर्वाधार र मापदण्ड नपुर्याई कैलालीको गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका पदाधिकारीलाई निलम्बन गरी छानबिन गर्नुपर्ने र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने रहेका छन्।
त्यस्तै, सार्वजनिक संस्थामा ७५ प्रतिशत छात्रवृत्तिको अनिवार्य कार्यान्वयन, २०८३ साउन ११ गते सरकारसँग भएको सहमतिको पूर्ण पालना तथा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्ने विगतका सहमति शीघ्र कार्यान्वयन गर्नुपर्ने माग डा. केसीले राखेका छन्।







