काठमाडौं । नेपाल सरकारअन्तर्गतको नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।

नेपालमा रेल सेवा सञ्चालनका लागि नेपाली चालकहरूलाई नै सूचीकृत गर्ने उद्देश्यले यो दरखास्त खुला गरिएको बोर्डले जनाएको छ। सूचना अनुसार दक्ष, योग्य, इमानदार तथा जिम्मेवार रेल चालकहरूलाई सेवामा आबद्ध गराइनेछ। इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले ३५ दिन अर्थात् आगामी मङ्सिर २१ गतेभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ।
दरखास्त दिन चाहने उम्मेदवारले आवश्यक कागजातसहित नेपाल रेल्वे बोर्डको केन्द्रीय कार्यालयमा निवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ। आवेदनका साथमा नेपाली नागरिकताको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यताप्राप्त संस्थाबाट जारी भएको रेल चालक अनुमतिपत्र (लाइसेन्स) को प्रतिलिपि तथा सम्बन्धित क्षेत्रको अनुभव र तालिमको प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।







