काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको हो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। त्यस्तै निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ र आसिफ शेखले २१ रनको योगदान गरे। रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन जोडे।

बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल सुश्लिङले दुई–दुई विकेट लिए। यस्तै हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट हात पारे।
जारी प्रतियोगितामा अपराजित रहेको शीर्ष स्थानको लुम्बिनीले यसअघिका तीन खेलबाट पाँच अङ्क बटुलेको छ भने चार खेलबाट दुई जित र दुई हारसहित चार अङ्क जोडेको जनकपुर तालिकाको चौथो स्थानमा छ।







