ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्टको बयान, शारीरिक हिंसाको आरोप अस्वीकार

प्रकाशित मिति:
spot_img

काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले बेपत्ता तथा हत्या अभियोग लागेका पति नरेश भट्टले अदालतसमक्ष बयान दिँदै आफूले कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका छन्। नोभेम्बर चारमा भएको सुनुवाइका क्रममा उनले वैवाहिक जीवन, पारिवारिक सम्बन्ध र घटनाअघिको अवस्थाबारे अदालतसमक्ष बयान दिएका हुन्।

अमेरिकी सञ्चारमाध्यम फक्स फाइभ डीसीका अनुसार नरेशले दोभाषेको सहायतामा बयान दिँदै विवाहका सुरुआती दुई वर्ष सम्बन्ध सुमधुर रहेको बताएका थिए। ममता अमेरिका आएपछि अध्ययन, रोजगारी र सवारी चालक अनुमतिपत्रका कागजी प्रक्रियामा आफूले पूर्ण सहयोग गरेको उनको जिकिर थियो। सन् २०२३ अगस्टमा छोरीको जन्मपछि ममतामा प्रसवपछिको डिप्रेसन (पोस्टपार्टम् डिप्रेसन) देखिएको हुन सक्ने र उनी सामान्य कुरामा पनि झर्किने गरेको दाबी उनले गरेका छन्।

सन् २०२४ अगस्ट १ देखि बेपत्ता ममताको शव अहिलेसम्म फेला परेको छैन। यद्यपि, अनुसन्धानका क्रममा घरको शयनकक्ष र बाथरुममा रगतका दाग तथा रौँसहितको विद्युतीय आरा बरामद भएपछि प्रहरीले अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो। अभियोजन पक्षले ममताको हत्या गरी शव क्षतविक्षत पारेर लुकाएको दाबीसहित प्रथम श्रेणीको हत्या अभियोग लगाएको छ भने नरेशले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन्। यस मुद्दामा नरेशमाथिको बयान र जिरह आज पनि जारी रहने बताइएको छ।

spot_img

ताजा समाचार