रौतहट । रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित भित्री सडक खण्डमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मङ्गलबार अपराह्न अन्दाजी ४ः०० बजे झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको म.प्र.०३–०४२ प १४२९ नम्बरको स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी रौतहटको गुजरा नगरपालिका–७ बस्ने २५ वर्षीय सुनिल हजरा (दुसाध) र भारतको सितामढी जिल्ला जमुआ टोल बस्ने १८ वर्षीय अनिकेत पसवानको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै चारै जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।
यस्तै, दुर्घटनामा घाइते भएका रौतहटको यमुनामाई नगरपालिका–५ झुनखुनवा टोलका १५ वर्षीय अकाश पसवानको प्रादेशिक अस्पताल गौरमा र भारतको सितामढी जिल्ला ग्राम भकुरहरका १६ वर्षीय प्रिन्स पसवानको नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ । दुवै घाइतेको अवस्था मध्यम रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






