महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनिष कुवँरले नेपाल विद्यार्थी संघ कैलालीले शिक्षण संस्थामा तालाबन्दी नगर्ने बताएका छन् ।
शनिवार स्ववियु चुनावका निमित्त नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय धनगढीमा आयोजित वृहत विद्यार्थी भेला तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष कुवँरले त्यसो भनेका हुन् ।
‘अब नेपाल विद्यार्थी संघले विद्यार्थीका हकहित र विभिन्न मागका लागि कुनैपनि शिक्षण संस्थामा तालाबन्दी गर्ने छैन ।’ अध्यक्ष कुवँरले भने ‘ शिक्षण संस्थामा तालाबन्दि गर्दा विद्यार्थीहरुकै पढाई प्रभावित हुन्छ । त्यसैले हामी हाम्रा एवम् विद्यार्थीहरुका हकहित एवम् मागका लागि अब शिक्षण संस्थामा तालाबन्दि गरेर होइन आमरण अनसन बस्छौ ।’
यस्तै उनले उक्त वृहत विद्यार्थी भेला एवम् अन्तक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बलियो बनाउन नेविसंघलाई बलियो बनाउनु पर्ने बताए ।
‘नेपाल विद्यार्थी संघ कमजोर हुदाँ नेपाली काँग्रेस बलियो हुन सक्दैन । त्यसैले नेपाली काँग्रेसलाई बलियो बनाउनका लागि नेविसंघ बलियो बनाउनु पर्छ ।’ अध्यक्ष कुवँरले भने ‘त्यसैले अनुशासित भएर सबैले काम गर्नु होला ।’
उनले अगाडी भने ‘राजनिति गर्दै गर्दा आन्दोलन मात्र होइन समाज सेवामा पनि लाग्नुस । समाजमा कोही विरामी,अप्ठ्यारोमा पर्दा उहाँहरुलाई सहयोग गर्ने गर्नुस । तबमात्र समाजले,पार्टीले तपाईहरुको मुल्याङकन गर्नेछन् ।’