तीन दशकको संघर्ष र जनविश्वासः गोपी उपाध्यायको संसदीय यात्रा

प्रकाशित मिति:

महेन्द्रनगर । कञ्चनपुरको माटोमा हुर्किएको एक साधारण परिवारको संस्कारबाट तयार भएको व्यक्तित्व हुन् गोपी प्रसाद उपाध्याय । पारिवारिक अनुशासन, नैतिकता र समाजप्रतिको उत्तरदायित्वको भावनाले उनकोे व्यक्तित्व निर्माणमा बलियो आधार तयार ग¥यो ।

सानैदेखि सिकेको इमान्दारिता र जिम्मेवारीबोध नै आजसम्म उनको सार्वजनिक जीवनको मार्गदर्शक बनेको छ । यही पारिवारिक मूल्य र सामाजिक संस्कारलाई साथमा लिएर उपाध्यायले आफ्नो राजनीतिक यात्रा सुरु गरे ।

विद्यार्थी जीवनबाटै विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै उनि २०५३ सालमा जनज्योति बहुमुखी क्याम्पसको इकाई अध्यक्ष बने ।

त्यसपछि २०५४ सालमा नेपाल विद्यार्थी संघ कञ्चनपुर क्षेत्रीय सभापति, २०५७ सालमा सिद्धनाथ विज्ञान क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन सभापति र २०५९ सालमा नेपाल विद्यार्थी संघ कञ्चनपुर जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै विद्यार्थी राजनीतिमा स्थापित नेतृत्वका रूपमा उनले आफ्नो परिचय बनाए ।

२०६२/०६३ को दोस्रो जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा उनि पटक–पटक हिरासत र जेलसमेत परे । आन्दोलनको अनुभवले उनको राजनीतिक प्रतिबद्धता अझ बलियो बनायो ।

२०६२ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेपछि उनको यात्रा पार्टी संरचनातर्फ उन्मुख भयो । २०६७ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित हुँदै जिल्ला नेतृत्वमा प्रवेश गरेका गोपी २०७३ सालमा क्षेत्रीय सभापति र २०७८ सालको १४औं महाधिवेशनबाट पुनः क्षेत्रीय सभापतिको जिम्मेवारी पाएपछि दुई कार्यकाल संगठन निर्माण र सुदृढीकरणमा सक्रिय रहे ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत उनको सक्रियता निरन्तर र¥यो । अपांग, अशक्त र वृद्ध नागरिकलाई ह्वीलचेयर वितरण, विपन्न परिवारलाई सहयोग, युवालाई खेलकुद सामग्री वितरण, विदेशमा समस्यामा परेका नेपाली युवाको उद्धार, ठगिएका तथा दुखमा परेका नागरिकलाई न्याय दिलाउन पहलकदमी यी सबै कार्यहरूले उनलाई सामाजिक रूपमा विश्वसनीय व्यक्तित्व बनाएको छ ।

महिला तथा किशोरीका लागि पाठेघर क्यान्सरविरुद्धको खोप अभियान तथा थारु समुदायमा देखिने सिकलसेल रोगका बिरामीहरूको परीक्षण तथा निःशुल्क औषधि वितरणका लागि समेत उनि निरन्तर सक्रिय रहे ।

विज्ञानमा स्नातक र मानविकीमा स्नाकोत्तर अध्ययन गरेका उपाध्याय शिक्षा, स्वास्थ्य र आधारभूत पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाउँदै कञ्चनपुर–१ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रेका छन् ।

सीमानाकामा जनताले भाग्नु परेका समस्या, शिक्षा, स्वास्थ्य, आरक्ष पिडितको समस्या, रोजगार, सुरक्षा र सेवा सुविधाका समस्या समाधान गर्ने उनको प्रतिबद्धता छ । विकास, शिक्षा, स्वास्थ्यका दृष्टिकोणले कञ्चनपुर क्षेत्र नं. १ धेरै नै पछाडी परेको भन्दै ती समस्या समाधानका लागि जनताको प्रतिनिधिले कसरी काम गर्नुपर्छ त्यो देखाउन इच्छा रहेको उनले बताए ।

‘यो क्षेत्र विकास शिक्षा स्वास्थ्य लगाएत सबै कुराबाट पछाडी परेको छ ।’ उनले भने ‘मैले यहाँका जनताका प्रत्यक्ष जिविकासंग जोडिएका समस्या नजिकबाट देखेको अनुभव गरेको छु ।’ उनले अगाडी भने ‘म जनाको सेवकका रुपमा जनातको जनप्रतिनिधि कस्तो हुनपर्छ भनेर देखाउने मेरो इच्छा छ ।’

आरक्षपीडित, बाढीपीडित, भूमिहीन सुकुम्बासी, महिला, आदिवासी जनजाति तथा सबै समुदायको समग्र हकहितका लागि नीतिगत पहल गर्ने उनको योजना छ । उनका अनुसार चुनाव जित्नु मात्र उद्देश्य नभई दीर्घकालीन विकासको आधार तयार गर्नु नै मुख्य लक्ष्य हो ।

‘हामीले सार्वजनिक पदमा नरहेर समेत जनताको बीचमा रहेर काम गरेका छौं,’ उनले भने ‘पहिलो पटक सार्वजनिक पदमा बसेर जनताको सेवा गर्न चुनावी मैदानमा उत्रिएको छु । म जनाको जनप्रतिनिधि सेवक कस्तो हुनुपर्छ जनतालाई महशुस गराउने गरी काम गर्नेछु ।’

विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा, आन्दोलनको अनुभव, संगठनात्मक नेतृत्व र सामाजिक सेवाको पृष्ठभूमिलाई आधार बनाउँदै उपाध्याय अहिले संसदीय राजनीतिमा प्रवेशको तयारीमा छन् ।

उनको उम्मेदवारीलाई केहीले लामो राजनीतिक अनुभवको स्वाभाविक उचाइका रूपमा हेरेका छन् भने केहीले यसलाई नयाँ जिम्मेवारीको परीक्षा ठानेका छन् ।

सामाजिक जीवनमा उनको सरलता, इमान्दारी र समुदायप्रतिको लगावले उनि स्थानीय स्तरमा विश्वासनीय नेताको रुपमा चिनिएका छन् । समुदायसँग नजिक रहँदै जनताको समस्या बुझ्ने र समाधान खोज्ने व्यवहारिक दृष्टिकोण नै उनको राजनीतिक पहिचान बनेको छ ।

जे होस्, गोपी प्रसाद उपाध्यायका लागि यो चुनाव केवल प्रतिस्पर्धा मात्र होइन—पारिवारिक संस्कारबाट सुरु भएको, विद्यार्थी आन्दोलन हुँदै संगठनात्मक नेतृत्वमा परिपक्व बनेको तीन दशक लामो राजनितिक यात्राको अर्को महत्वपूर्ण अध्याय हो । अब मतदाताको फैसलाले नै उनको इमान्दारीता, प्रतिबद्धता र अनुभवको वास्तविक मापन हुनेछ ।

ताजा समाचार