काठमाडौं । भोटेकोशी बाढीका कारण प्रभावित ११ जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र हाराहारी १२१ जना कर्मचारी तथा कामदार मात्र फसेको नेपाली सेनाले प्रस्ट पारेको छ। आयोजनाहरूले सुरुङ र कार्यस्थल गरी कुल २ हजार २१५ जना बेपत्ता रहेको विवरण दिए पनि बाढी आएको समयमा ती सबै सुरुङभित्र नरहेको सेनाको भनाइ छ।
सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नुवाकोटको त्रिशूलीस्थित अपरेसनका कमान्डर सहायकरथी सुवासजंग थापाले आयोजनाहरूले सुरुमा दिएको करिब ९ सयको सङ्ख्या आयोजनामा आबद्ध व्यक्तिको भएको र सुरुङभित्र करिब १२१ जना मात्र फसेको देखिएको बताए। उनका अनुसार रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, माथिल्लो त्रिशूली–१ मा ५० र माथिल्लो त्रिशूली ३ ‘ए’ मा ४० जनासहित अन्य सुरुङमा गरेर १२१ जना फसेको प्रारम्भिक विवरण छ।
सेनाका अनुसार बाढी आएको दिन ११ वटा आयोजनामा कार्यरत कुल २ हजार २१५ जनाको सूची प्राप्त भएको छ। जसमा माथिल्लो त्रिशूली–१ मा १ हजार ४३३, त्रिशूली ३ ‘बी’ मा २८५, त्रिशूलीमा १२४, रसुवागढीमा ९७, त्रिशूली ३ ‘ए’ मा ७५, चिलिमेमा ६४, लाङटाङ खोला र देवीघाटमा ६०/६०, रसुवा भोटेकोशीमा ८, मैलुङ खोलामा ७ र मध्य त्रिशूली गङ्गामा २ जना कामदार रहेका थिए। यद्यपि यसको यथार्थ पुष्टि हुन बाँकी छ।
प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले सुरुङ र बाढीमा परेका नागरिकको खोजी अन्तिम अवस्थासम्म जारी रहने बताए। उद्धार सामग्री ढुवानीलाई प्राथमिकता दिनुपरेकाले राहत सामग्री पठाउन केही जटिलता भए पनि काठमाडौँ, त्रिशूली र रसुवाबाट हेलिकोप्टरमार्फत खाद्यान्न पठाइरहेको उनले स्पष्ट पारे।
सहायकरथी थापाका अनुसार भारत, चीन, दक्षिण कोरियालगायत देशका सुरुङविज्ञ तथा उद्धार टोलीको सहयोगमा चौबिसै घण्टा खोजी भइरहेको छ। सुरुङभित्रको अवस्थाबारे जानकारी दिँदै सेनाले रसुवागढीको २७५ मिटरसम्म टोली पुगेको, लाङटाङमा ६० मिटर सर्भिस टनेल खनेर खोजी भइरहेको र त्यहाँबाट १ शव भेटिएको जनाएको छ। यस्तै चिलिमेको ‘भी’ आकारको सुरुङमा ९ फिट गहिरो लेदो पन्छाउँदै ११० मिटरसम्म टोली पुगेको छ।
सबैभन्दा धेरै कामदार फसेको ठानिएको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा ११५ मिटरभित्र टोली पुगेको र त्यहाँबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार तथा ३ वटा शव फेला परेको सेनाले जनाएको छ। त्रिशूली ३ ‘ए’ मा दुई जनाको जीवितै उद्धार र १ शव फेला परेको छ भने त्रिशूली ३ ‘बी’ को सुरुङभित्र मानिस नरहेको देखिएकाले पावरहाउस र आवास क्षेत्रमा खोजी केन्द्रित गरिएको छ। सरकार वा विद्युत् प्राधिकरणले खोजी पुग्यो नभनेसम्म र सबै सुरुङ ‘ब्रेकथ्रु’ नभएसम्म खोजी कार्य जारी रहने सेनाले स्पष्ट पारेको छ।




