काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा आज मुलुकभर स्मृति दिवस मनाइएको छ। सरकारले भदौ २३ गतेको दिनलाई ‘जेनजी सहिद दिवस’ घोषणा गर्दै आज देशभर सार्वजनिक बिदा दिएको छ।
दिवसका अवसरमा जेनजी सहिद कल्याणकारी समाजले नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्राङ्गणमा विशेष स्मृति कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र कृषिमन्त्री गिता चौधरीसहित विभिन्न सांसदहरूको उपस्थिति रहेको छ।
गत वर्ष भदौ २३ गते सङ्घीय राजधानी काठमाडौँमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। सो घटनाको विरोधमा भदौ २४ मा मुलुकभर भएको थप प्रदर्शनसहित दुई दिनको अवधिमा प्रदर्शनकारी र सुरक्षाकर्मी गरी कुल ७६ जनाले ज्यान गुमाएका थिए। आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामाथि समेत ठूलो क्षति पुगेको थियो।




