हाकिमहरुको फोटो फेसबुकमा राखेर ग्लोबल आइएमई बैंकका कर्मचारी खड्काले गरे आत्महत्या

प्रकाशित मिति:

महेन्द्रनगर । ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेका छन् । सोमबार बेलुकी उनले आफ्नै घरको भुइँतल्लामा रहेको एक कोठामा सिलिङ्गमा रहेको हकमा प्लास्टिकको डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । पोष्टमार्टम रिपोर्टले पनि उनले आत्महत्या गरेको पुष्टि गरिसकेको छ।

उनका बाबु महेश खड्काले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए । लगत्तै, घटनास्थल पुगेको प्रहरीले वडा अध्यक्षसमेतको उपस्थितिमा घटनाको मुचुल्का उठाएर शब पोष्टमार्टमका लागि अस्पताल पठाएको थियो ।

ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेका छन् ।
खड्काले सामाजिक संजालमा आत्महत्या अघि ४ जना सिनियर कर्मचारीहरुको नाम र एआई फोटो राखेका छन् । बैंकका सिइओ सुरेन्द्र राज रेग्मी, बैंकका असिस्टेन्ट सिइओ दीपचन्द्र रेग्मी, एचआर प्रमुख अनामिका सिंह कुँवर र बैंकका डेपुटी सिइओ सुमन पोखरेलको फोटो राखी, उनीहरुलाई ट्यागसमेत गरेर खड्काले आत्महत्या गरेका हुन् ।

घटनास्थलबाट प्रहरीले खड्काको मोबाइल लगायतका सामान नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएका छन् । प्रहरीले खड्काले उल्लेख गरेका बैंकका सिनियर कर्मचारी, खड्का कार्यरत शाखाका अन्य कर्मचारी, प्रदेश प्रमुख लगायतको बयान लिने तयारीसमेत गरेको छ ।

खड्कालाई केही समय अगाडि बैंकले स्पष्टिकरण सोधेको बुझिएको छ । स्पष्टिकरणपछि उनले राजिनामा दिएका थिए । तर स्पष्टिकरण के विषयमा थियो भन्ने तथ्य बाहिर आएको छैन । बैंकले राजीनामा स्वीकृत गरेकै दिन उनले ‘तिमीहरुले मलाई मार्यौ’ लेखेर पासो लगाएका थिए ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।

उनी यसअघि बैंकको चारआली शाखा प्रबन्धक थिए । चारआलीबाट बैंकले उनलाई प्रादेशिक कार्यालय, विराटनगरमा सरुवा गरेको थियो ।

ग्लोबल आइएमई आउनुअघि उनी ज्योति विकास बैंकमा कार्यरत थिए । बैंकका कर्मचारीले आत्महत्या गरेपछि उत्पन्न परिस्थिति र उत्पन्न हुने थप सम्भावित परिस्थितिबारे बैंकका सिनियर व्यवस्थापनबीच छलफल भइरहेको बैंकले जनाएको छ ।

ताजा समाचार