जलवायु संकटको असर: भारतमा तापलहरका कारण १६ जनाको मृत्यु, स्वास्थ्य सतर्कता जारी

प्रकाशित मिति:

दक्षिणी भारतमा यस वर्षको गर्मी मौसममा चलेको अत्यधिक तापलहर (लु) का कारण कम्तीमा १६ जनाको ज्यान गएको अधिकारीहरूले आइतबार पुष्टि गरेका छन् । देशका विभिन्न भूभागमा तीव्र रूपमा लू फैलिएपछि सरकारले विशेष स्वास्थ्य सतर्कता (हेल्थ अलर्ट) समेत जारी गरेको छ । भारतमा गर्मी हुनु सामान्य प्रक्रिया भए तापनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा लुको अवधि लामो, बारम्बार दोहोरिने र पहिलेभन्दा निकै घातक हुँदै गएको देखाएका छन् । करिब एक अर्ब ४० करोड जनसङ्ख्या रहेको यस दक्षिण एसियाली मुलुकका थुप्रै सहरहरूमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि आम जनजीवन निकै कष्टकर बनेको छ । यस पटकको गर्मीमा सबैभन्दा बढी मानवीय क्षति दक्षिणी राज्य तेलङ्गानामा दर्ता भएको छ । तेलङ्गानाका राजस्वमन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै राज्यभर उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ । उहाँको कार्यालयद्वारा जारी विज्ञप्तिमा गर्मीको यो रूप अभूतपूर्व स्तरको भएको उल्लेख गर्दै समयमै चेतावनी प्रणाली चुस्त राख्न र आवश्यक सावधानीका उपायहरू अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार अत्यधिक गर्मीले मानव शरीरमा पानीको कडा अभाव (डिहाइड्रेसन) गराउँछ, जसका कारण रगत बाक्लो हुन गई गम्भीर अवस्थामा आन्तरिक अङ्गहरूले काम गर्न छोड्ने (अर्गान फेलियर) जोखिम रहन्छ । यसैलाई मध्यनजर गर्दै तेलङ्गानाको स्थानीय प्रशासनले वृद्धवृद्धा, बालबालिका र गर्भवती महिलाहरूलाई अति आवश्यक काम नपरी दिउँसोको समयमा घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

यसैबीच, भारतीय मौसम विभागले देशका धेरै क्षेत्रहरूमा सामान्यभन्दा बढी तापक्रम रहने र तीव्र लु चल्ने क्रम अझै केही समय जारी रहने चेतावनी दिएको छ । राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा यसै साता लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा एसी र कुलरको अत्यधिक प्रयोगले बिजुलीको माग अहिलेसम्मकै उच्च (रेकर्ड स्तर) मा पुगेको छ । विशेषज्ञहरूका अनुसार अचेल दिउँसो मात्र नभई रातको समयमा पनि तापक्रम उच्च रहने गरेको छ, जसले गर्दा मानिसहरूले पर्याप्त आराम पाउन सकेका छैनन् र यसले स्वास्थ्य जोखिमलाई थप बढाएको छ । विश्वमै सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकहरूको सूचीमा तेस्रो स्थानमा आउँछ र यहाँको विद्युत् उत्पादन अझै पनि ठुलो मात्रामा कोइलामै निर्भर छ । भारतले सन् २०७० सम्ममा ‘नेट-जिरो’ अर्थात् शुद्ध–शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएको छ, जुन धेरै पश्चिमा औद्योगिक देशहरूको लक्ष्यभन्दा करिब दुई दशक ढिलो हो । यसअघि सन् २०१६ मा भारतको राजस्थानस्थित फलोदीमा ५१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो, जसलाई अहिलेसम्मकै सबैभन्दा उच्च आधिकारिक तापक्रम मानिन्छ ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार