काठमाडौ । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवादका कारण कर्णाली करिडोर पूर्ण रूपमा बन्द गरिएको छ । गत जेठ ५ गते च्याचौरमा भएको झडपको विषयलाई लिएर बाजुरा जिल्लाका युवाहरूले कर्णाली करिडोर अन्तर्गत पर्ने पिलुचौर-कवाडी सडकखण्ड पुनः अवरुद्ध पारेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटा च्याचौरमा निर्माण गर्न लागेको प्रहरी चौकीको विषयमा दुई पक्षबीच झडप भएको थियो । उक्त घटनामा परी घाइते भएकाहरूको निःशुल्क उपचार हुनुपर्ने र घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने लगायतका माग राख्दै हिमाली युवा समूहले जेठ ७ र ८ गते पनि कर्णाली करिडोरको पिलुचौरदेखि कवाडी खोलासम्म सडकमा टायर बालेर नाराबाजीसहित सडक ठप्प पारेका थिए । यो सडक अवरोधका कारण हुम्लाका स्थानीय नागरिक मात्र नभएर मुगु र हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि हिँडेका तीर्थयात्री समेत बीच बाटोमै अलपत्र परेका छन् । यसअघिको बन्दका बेला धुलाचौर क्षेत्रमा हुम्ली नागरिकले सञ्चालन गर्दै आएका व्यापार व्यवसायहरू समेत पूर्ण रूपमा बन्द गरिएका थिए । उक्त बन्द पश्चात् जिल्ला प्रशासन कार्यालय बाजुराले मध्यस्थता र सहजीकरण गरी ६ बुँदे मागमा सहमति जुटाएर २४ घण्टाका लागि आन्दोलन स्थगित गराएकोमा, आज आइतबारदेखि फेरि अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ ।
त्यसबेला लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी सर्जमिन मुचुल्का बनाउने, घटनामा संलग्न जोकोही दोषीलाई कानुनी कारबाही गर्ने तथा लुटिएका व्यक्तिगत र सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति पीडितलाई उपलब्ध गराउने सहमति भएको थियो । साथै कुटपिटबाट घाइते भएकाहरूको उपचार खर्च पीडक पक्षले बेहोर्ने, लाम्पाटा र च्याचौराका विस्थापित परिवारलाई पुनस्र्थापित गरी सुरक्षाको प्रत्याभूति दिलाउने र प्रहरी चौकी निर्माण कार्य अघि बढाउने लगायतका मागहरू पूरा गर्न २४ घण्टाको अल्टिमेटम दिएर सडक सुचारु गरिएको थियो । गत जेठ ८ गते बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले गरेका ती निर्णयहरूमाथि हुम्ला पक्षले अहिलेसम्म कुनै पनि कार्य सुरु नगरेको भन्दै आज फेरि पाँचबुँदे नयाँ मागसहित अनिश्चितकालीन सडक अवरुद्ध गरिएको हो । हिमाली युवा क्लबद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार यसअघि सर्वदलीय र सर्वपक्षीय बैठकद्वारा गरिएका निर्णयहरू पूर्ण रूपमा कार्यान्वयन नभएसम्मका लागि सडक बन्द रहने उल्लेख छ । यता हुम्ला जिल्ला प्रशासन कार्यालयले भने सीमा विवाद र सडक सुचारु गर्ने विषयमा जिल्लाको सामूहिक धारणा तय गर्नका लागि अहिले सर्वदलीय तथा सर्वपक्षीय बैठक बसिरहेको जनाएको छ ।



