डडेल्धुरामा रुखबाट खसेर बालविकास शिक्षिकाको मृत्यु

प्रकाशित मिति:

काठमाडौ । रुखबाट खसेर डडेल्धुरामा एक बालविकास शिक्षिकाको दुःखद मृत्यु भएको छ। आइतबार जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर एक खतेडाकी शिक्षिका लक्ष्मी भण्डारीको रुखबाट खसेर मृत्यु भएको विद्यालय परिवारले जानकारी दिएको छ। ३७ वर्षीया भण्डारी स्थानीय घनघस्या माध्यमिक विद्यालय, खतेडामा कार्यरत रहनुभएको सोही विद्यालयका लेखापाल रविन्द्र भण्डारीले जानकारी दिनुभयो। घर नजिकै घाँस काट्नका लागि रुखमा चढ्नुभएकी भण्डारी रुखबाट अचानक खसेर गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको लेखापाल भण्डारीले बताउनुभयो।

शिक्षिका भण्डारीको गाउँ खतेडा डडेल्धुराको एक दुर्गम ग्रामीण बस्ती हो, जुन बैतडीको पाटनसँग सीमा जोडिएको क्षेत्रमा पर्दछ। डडेल्धुरा जिल्ला सदरमुकामबाट करिब पैंतीस किलोमिटर उत्तरतर्फ रहेको खतेडा पुग्न डडेल्धुरा–बैतडी जोड्ने शहीद दशरथ चन्द राजमार्गअन्तर्गतको अनारखोली बजारबाट ग्रामीण कच्ची सडक हुँदै पश्चिम–उत्तरतर्फ जानुपर्छ। भौगोलिक विकटताका कारण ग्रामीण भेगका यस क्षेत्रका बिरामी तथा चोटपटक लागेका घाइतेहरूलाई उपचारका लागि जिल्ला सदरमुकाम टुँडिखेलस्थित डडेल्धुरा अस्पताल नै पुग्नुपर्ने बाध्यता छ। खतेडा गाउँबाट सदरमुकामको टुँडिखेलसम्म पुग्न मात्रै करिब दुई घण्टाको समय लाग्ने गरेको स्थानीयको भनाइ छ।

ताजा समाचार