काठमाडौ । हर्मोनमा आउने परिवर्तनका कारण पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने हर्मोन विशेषज्ञ (इन्डोक्राइनोलोजिष्ट) हरूले बताउनुभएको छ। चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका हर्मोन विशेषज्ञ डाक्टर सौरव खतिवडाका अनुसार १५ देखि २० प्रतिशत महिलामा ‘हाइपर थाइराइडिजम’ (उच्च थाइराइड) को सम्भावना हुन्छ भने पुरुषमा यसको आधा अर्थात् पाँचदेखि आठ प्रतिशत हाराहारीमा मात्र यो समस्या देखिन्छ। घाँटीको अगाडि तल्लो भागमा हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ, जसले शरीरका लागि आवश्यक महत्त्वपूर्ण हर्मोन उत्पादन गर्छ। यो हर्मोनले बालबालिकाको दिमागको विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कार्यप्रणाली, पाचन प्रक्रिया र शरीरको मोटोपनलाई सन्तुलनमा राख्न मुख्य भूमिका खेल्ने डाक्टर खतिवडाको भनाइ छ।
थाइराइड ग्रन्थीमा हर्मोनको मात्रा बढी हुँदा आत्तिने, हात काँप्ने, मुटु ढुकढुक हुने र धेरै गर्मी महसुस हुने जस्ता लक्षण देखिन्छन्, जसलाई आमभाषामा दुब्लाउने थाइराइड भनिन्छ। यस अवस्थामा टी थ्री र टी फोर हर्मोन बढेको र टिएसएच घटेको हुन्छ, जसलाई औषधिद्वारा नियन्त्रण गरिन्छ। घाँटी दुख्दैमा थाइराइड नहुने स्पष्ट पार्दै डाक्टर खतिवडाले कहिलेकाहीँ यस ग्रन्थीमा ट्युमर वा क्यान्सर हुन सक्ने भएकाले गाँठागुँठी देखिएमा अल्ट्रासाउन्ड गरेर परीक्षण गर्नुपर्ने र क्यान्सर प्रमाणित भएमा शल्यक्रिया तथा रेडियोथेरापीमार्फत पूर्ण रूपमा निको पार्न सकिने जानकारी दिनुभयो।
पुष्पाञ्जली अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारीका अनुसार शरीरमा थाइराइड हर्मोनको कमी हुँदा टिएसएच बढेर आउँछ, जसलाई सुस्त हुने वा मोटाउने थाइराइड भनिन्छ। यस्तो अवस्थामा बढी थकाइ लाग्ने, खुट्टा सुन्निने, अनुहार फुस्रो हुने र कपाल झर्ने जस्ता समस्या देखिन्छन्। थाइराइडको समस्या भएका बिरामीले दैनिक बिहान खाली पेटमा एउटा चक्की औषधि खाएमा यो सजिलै नियन्त्रणमा आउने उहाँले बताउनुभयो। विशेषगरी महिलाहरूमा प्रसूति समयदेखि लिएर पच्चीसदेखि ५० वर्षको उमेर समूहमा र महिनावारी बन्द हुनुभन्दा अगाडिको समयमा थाइराइडको कमी बढी देखिने गर्दछ।
त्यसैगरी हर्मोन रोग विशेषज्ञ डाक्टर उमनाथ अधिकारीले महिलाहरूमा पुरुषको तुलनामा ‘अटो इम्युनिटी’ (रोग प्रतिरोधात्मक प्रणालीको असन्तुलन) बढी हुने भएकाले थाइराइड र बाथरोगको जोखिम उच्च हुने बताउनुभयो। थाइराइडको समस्याका कारण महिलाहरूमा महिनावारी गडबढ हुने, शरीर दुख्ने, जीउ गल्ने र अचानक मोटोपन बढ्ने जस्ता लक्षणहरू देखा पर्छन्। विशेषज्ञहरूले यस्ता लक्षण देखिएमा तुरुन्त रगत परीक्षण गरी चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्न सुझाव दिएका छन्।



