बलात्कारको आरोपबाट सफाइ पाएका रवि ओडलाई अदालतको झट्का: श्रीमतीसँगै बस्नुपर्ने फैसला

प्रकाशित मिति:


महेन्द्रनगर ।
गायक रवि ओडले दायर गरेको सम्बन्ध विच्छेदको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सम्बन्ध विच्छेद नहुने फैसला सुनाएको छ।
ओडले श्रीमतीसँग अलग बस्ने निर्णय गर्दै जिल्ला अदालत कञ्चनपुरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। तर अदालतले भने श्रीमतीसँगको वैवाहिक सम्बन्ध कायम रहने फैसला गरेको हो।
जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश सूर्यप्रसाद भण्डारीको एकल इजलासले उक्त मुद्दाको अन्तिम सुनुवाइ गर्दै सम्बन्ध विच्छेद नहुने फैसला सुनाएको अदालतले जनाएको छ।
अदालतका शाखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्द ले रवि ओडको मुद्दामा अदालतले सम्बन्ध विच्छेद नहुने निर्णय गरेको जानकारी दिए। यद्यपि, फैसलाको पूर्णपाठ आउन भने केही समय लाग्ने बताइएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका निवासी रवि ओडविरुद्ध उनकी श्रीमतीले यसअघि वैवाहिक बलात्कारको मुद्दा दर्ता गरेकी थिइन्। उक्त मुद्दामा भने अदालतले रविको पक्षमा फैसला गरेको थियो।
उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै २० चैत २०८० मा इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। त्यसपछि पक्राउ परेका रवि सुरुमा पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। पछि २०८१ असारतिर अदालतले उनलाई सफाइ दिएको थियो।
नेपाल आइडलका विजेता रवि ओड त्यसपछि गायन र अभिनय क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले विभिन्न गीत गाउनुका साथै थुप्रै म्युजिक भिडियोमा अभिनय पनि गरेका छन्।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार