कञ्चनपुर। कञ्चनपुरमा बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते भएका छन्।
मङ्गलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत कालिकिच नजिकै बाघले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन्। कालिकिचबाट करिब दुई किलोमिटर टाढा निकुञ्ज क्षेत्रको हुलाकी सडकमा बाघले आक्रमण गर्दा मोटरसाइकल चालक बेलौरी नगरपालिका–९ खजुवाका वीरेन्द्र ठगुन्ना, उनकी श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षीय छोरा रियान्स र १४ वर्षीया भान्जी आरुसी साहु घाइते भएका छन्।
साँझ करिब ७ः३० बजेतिर बाघले मोटरसाइकल चालक ठगुन्नाको हातमा आक्रमण गर्दा सवारी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। चालक ठगुन्नाको दाहिने खुट्टा, दुवै हात तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।
त्यस्तै, पछाडि सवार उनकी श्रीमती र छोराको टाउको, अनुहार र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको उनले बताए। पछाडि सवार भान्जी आरुसी साहुको टाउको, अनुहार र हातमा चोट लागेको छ भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बाघको आक्रमणपछि घाइतेहरूको महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



