काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ । विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको सर्वेक्षणले देखाएको छ । विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमानलाई सकारात्मक मानिएको छ । यससँगै मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपियाँ र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । प्रदेशगत रूपमा बागमती र गण्डकीको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धिदर भने औसतभन्दा न्यून रहने देखिएको छ ।
आर्थिक गतिविधिमा ३६.७ प्रतिशत योगदानसहित बागमती प्रदेशको दबदबा कायम रहँदा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ । यद्यपि, प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने ४.२० प्रतिशतले सङ्कुचन आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको छ । सरकारी वित्ततर्फ चालू आर्थिक वर्षको फागुनसम्ममा सङ्घीय राजस्व ३.२ प्रतिशतले वृद्धि भएको छ । सरकारको कुल खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत अर्थात् विकास खर्चमा भने उल्लेख्य सुधार हुन सकेको छैन । यसै वर्ष सरकारले थप ३ खर्ब रुपियाँ ऋण परिचालन गरेसँगै कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपियाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत हो ।
देशको बाह्य क्षेत्र भने निकै बलियो र उत्साहजनक देखिएको छ । सर्वेक्षणअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपियाँ पुगेको छ भने विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपियाँ पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ । यो सञ्चितिले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । यद्यपि, व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपियाँ पुग्नु अर्थतन्त्रका लागि अझै पनि चुनौतीकै रूपमा रहेको छ । अर्कातर्फ, बजारमा मूल्यवृद्धि (मुद्रास्फीति) नियन्त्रणमै रहेको छ, जुन औसत २.१३ प्रतिशत मात्र छ ।
पछिल्लो समय नेपालमा प्रविधिमैत्री भुक्तानी र वित्तीय साखमा उल्लेख्य प्रगति भएको छ । फागुन महिनासम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपियाँ नाघेको छ भने सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले ’बीबी–’ स्टेबल आउटलुक प्राप्त गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख सुध्रिएको सङ्केत गर्छ । यसका साथै देशले मानव विकासका सूचकहरूमा पनि राम्रो प्रगति हासिल गरेको छ, जसअन्तर्गत नेपालको मानव विकास सूचकाङ्क ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ ।
सामाजिक र स्वास्थ्य क्षेत्रमा पनि सुधारका सकारात्मक सङ्केतहरू देखिएका छन् । स्वास्थ्यतर्फ मातृ मृत्युदर प्रतिलाख १५१ मा र ५ वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको छ । त्यस्तै, शिक्षातर्फ आधारभूत तहको खुद भर्नादर ९७.८ प्रतिशत पुगेको छ । यसका साथै नागरिकहरूको स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा आबद्धता हुने क्रम पनि तीव्र रूपमा बढ्दो क्रममा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।



