रमेश लेखकको क्षेत्रका वडा सभापतिहरूले सदस्यता अद्यावधिक कार्य नगर्ने

प्रकाशित मिति:

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रका वडा सभापतिहरूले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको काम नगर्ने बताएका छन् । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा उपस्थित कञ्चनपुर–३ का २० वडाका सभापतिहरूले अद्यावधिकको काम नगर्ने बताएका हुन् ।
क्षेत्रीय सभापति केशव चन्दका अनुसार भीमदत्त नगरपालिकाका १९ र वेदकोट नगरपालिकाको एक वडाका सभापतिहरूले अद्यावधिकको काम नगर्ने निर्णय गरेको जानकारी दिए ।

कञ्चनपुर–३ मा दोधारा–चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकाको वडा नम्बर ८ को भूगोल पर्दछ ।
क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति पदम बोगटीको उपस्थितिमा प्रदेशसभा क्षेत्रीय समिति र वडा समितिसहितको बैठक गरेको थियो ।
बैठकमा सहभागी जिल्ला सचिव भीम भट्टले पनि सदस्यता अद्यावधिकको काम नगर्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार क्षेत्रीय कार्यसमितिले बिहीबार दोधारा–चाँदनीमा प्रदेशसभा क्षेत्रीय समिति र वडा समितिसहित छलफल गर्ने भएको छ ।
यसअघि कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै कञ्चनपुर–३ का क्षेत्रीय सभापति चन्दको जिम्मेवारी खोसेर उपसभापति पदमराज अवस्थीलाई जिम्मेवारी दिएको थियो ।

पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिहरू नरेन्द्रप्रसाद भट्ट र पदमराज पन्तले ११ जेठमा क्षेत्रीय उपसभापति अवस्थीलाई अद्यावधिकको काम अघि बढाउन भन्दै पत्र दिएका थिए । ‘कञ्चनपुर–३ मा नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यको संयोजन गर्न जरा अभियान निर्देशिकाको दफा ११ अनुसार तपाईंलाई जिम्मेवारी दिइएको छ,’ पत्रमा भनिएको थियो ।

पत्रमा क्षेत्रीय कार्यसमितिको विस्तृत बैठक आह्वान गरेर २१ जेठभित्र क्षेत्रअन्तर्गत गर्ने सबै वडाहरूको क्रियाशील सदस्यता अद्यावधिक काम सम्पन्न गर्न पनि पत्रमा भनिएको छ । क्षेत्रीय समिति बैठकले केन्द्रको उक्त निर्णयप्रति खेद व्यक्त गरेको क्षेत्रीय सभापति चन्दले जानकारी दिए ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार