सरकारको विभेदकारी निर्णयविरुद्ध कञ्चनपुरमा पत्रकारहरूको हस्ताक्षर संकलन

प्रकाशित मिति:

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले निजी सञ्चार माध्यमप्रति सरकारले गरेको विभेदकारी निर्णयविरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन र सूचना उपलब्ध गराउने सरकारको पछिल्लो निर्णयको विरोधमा महासंघले यो कदम चालेको हो।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेशसिंह धामीले राज्यले नै सरकारी र निजी सञ्चार माध्यमबिच विज्ञापन तथा सूचना वितरणमा विभेद गरेकाले त्यसका विरुद्ध जिल्लाव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिएको बताए। महासंघको केन्द्रीय कार्यक्रमअनुरूप नै कञ्चनपुरमा पनि यो विरोध कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे।

अध्यक्ष धामीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभ्यासमा लागेको र नागरिकको सूचनाको पहुँचलाई नियन्त्रण गर्न खोजेको आरोप लगाए। “लोककल्याणकारी राज्यमा सरकार आफैँ मिडियाबिच विभेद गर्न उद्यत हुनु दुःखद छ,” उनले भने। महासंघले सरकारी सञ्चार माध्यममा मात्र विज्ञापन छाप्ने विभेदकारी निर्णय तत्काल फिर्ता लिन समेत माग गरेको छ।

वर्तमान सरकारमा रहेका दल, मन्त्री र सांसदहरूले चुनाव जित्न निजी सञ्चार माध्यमकै सहयोग लिएको स्मरण गराउँदै चुनाव जितेपछि तिनै सञ्चार माध्यमप्रति अन्याय गर्नु घोर आपत्तिजनक रहेको कञ्चनपुरका पत्रकारहरूको बुझाइ छ। प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूको हकहितका लागि यो आन्दोलन थप सशक्त बनाइने महासंघले चेतावनी दिएको छ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार