महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा विद्यार्थी तथा अभिभावकको आवश्यकता लक्षित गर्दै घरमै पुगेर ट्युसन पढाउने सेवा सुरु गरिएको छ । “गुडविल ट्युसन सेन्टर” नामक संस्थाले भीमदत्त र वेदकोट नगरपालिकाभित्र होम ट्युसन सेवा उपलब्ध गराउन थालेको हो ।
सेन्टरका सञ्चालक दिनेश सिंह विष्टका अनुसार पछिल्ला वर्षहरूमा धेरै विद्यार्थीले भीडभाडभन्दा घरकै वातावरणमा अध्ययन गर्न रुचि देखाउन थालेपछि यस्तो सेवा सुरु गरिएको हो । उनले विद्यार्थीको आवश्यकता अनुसार विषयगत शिक्षक घरमै पठाइने व्यवस्था गरिएको बताए ।
उनका अनुसार अभिभावकलाई योग्य र भरपर्दा शिक्षक खोज्न कठिन हुने समस्या समाधान गर्ने उद्देश्य पनि सेन्टरको रहेको छ । सेन्टरमार्फत शिक्षक र अभिभावकबीच समन्वय गरेर व्यवस्थित तथा सुरक्षित रूपमा सेवा सञ्चालन गरिने जनाइएको छ ।
गुडविल ट्युसन सेन्टरले विभिन्न कलेज तथा शैक्षिक संस्थामा अध्ययनरत र अध्यापनमा संलग्न युवालाई पनि रोजगारी तथा अतिरिक्त आम्दानीको अवसर प्रदान गर्ने जनाएको छ । खाली समयमा ट्युसन पढाएर विद्यार्थीले आफ्नै खर्च व्यवस्थापन गर्न सक्ने विश्वास सञ्चालक विष्टको छ ।
हाल सेन्टरसँग विभिन्न विषयका शिक्षक आबद्ध भइसकेका छन् । ट्युसन शुल्क तथा पारिश्रमिक सम्बन्धी व्यवस्थापन सेन्टरमार्फत हुने भएकाले शिक्षक र अभिभावक दुवैलाई सहज हुने बताइएको छ ।
सेन्टरको कार्यालय भीमदत्त नगरपालिका–३, भाँसीमा रहेको छ । अहिले प्रारम्भिक रूपमा भीमदत्त र वेदकोट क्षेत्रमा सेवा सञ्चालन गरिए पनि आगामी दिनमा जिल्लाका अन्य क्षेत्रमा समेत विस्तार गर्ने योजना रहेको सञ्चालक विष्टले जानकारी दिए ।
सञ्चालक विष्टका अनुसार पछिल्लो समय विद्यालयको पठनपाठन प्रणाली र बिदाको व्यवस्थाका कारण विद्यार्थीलाई अतिरिक्त अध्ययन सहयोग आवश्यक परिरहेको अवस्थामा होम ट्युसन प्रभावकारी विकल्प बन्न सक्छ । उनले घरमै अध्ययन गर्दा समय बचत हुनुका साथै विद्यार्थीलाई पारिवारिक वातावरणमा ध्यान केन्द्रित गर्न सहज हुने बताए ।



