खेलकुद पूर्वाधार निर्माण र संरक्षणका लागि नेपालगन्जको टोलीद्वारा बजेट माग

प्रकाशित मिति:

काठमाडौं । नेपालगन्जमा रहेका अर्बौंका खेलकुद संरचनाहरूको उचित संरक्षण र नयाँ पूर्वाधार निर्माणका लागि साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले लुम्बिनी प्रदेश सरकारसँग बजेटको माग गरेको छ। समितिका कार्यालय प्रमुख महेश चन्दको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डेयलाई भेटेर खेलकुदको समग्र अवस्थाबारे जानकारी गराउँदै बजेट उपलब्ध गराउन आग्रह गरेको हो।

समितिका प्राविधिक सल्लाहकार फरमान अली सिद्दिकीका अनुसार नेपालगन्जमा यसअघि १ अर्ब रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएका बहुमूल्य खेल पूर्वाधारहरूको मर्मतसम्भार र खेलाडीहरूको प्रशिक्षणलाई प्रभावकारी बनाउन थप संरचना आवश्यक परेकाले मन्त्रालयको ध्यानाकर्षण गराइएको हो।

भेटका क्रममा नेपालगन्जलाई खेलकुदको ‘हब’ का रूपमा चित्रण गर्दै मन्त्री पाण्डेयले पुराना संरचनाको रक्षा र नयाँ विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको र आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्ने आश्वासन दिनुभयो। उक्त भेटघाट टोलीमा कार्यालय प्रमुख चन्द, क्षेत्रीय प्रशिक्षण प्रमुख जयन्त श्रेष्ठ, पूर्व उपाध्यक्ष नरेन्द्र थापा र प्राविधिक सल्लाहकार सिद्दिकीको उपस्थिति रहेको थियो।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार