काठमाडौं । आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२०२६ का लागि साविक विजेता अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको छ। ३८ वर्षीय स्टार फुटबलर मेस्सीको यो छैटौँ विश्वकप यात्रा हुनेछ, जसका साथ उहाँले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको दुर्लभ कीर्तिमानसँग बराबरी गर्नुहुनेछ।
घोषित टोलीको गोलरक्षकमा एमिलियानो मार्टिनेज, हुआन मुसो र जेरोनिमो रुल्ली छन् भने रक्षकहरूमा क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज र निकोलस ओटामेन्डीसहित ८ खेलाडी समेटिएका छन्। त्यसैगरी मिडफिल्डमा रोड्रिगो डे पल, एलेक्सिस म्याक एलिस्टर र एन्जो फर्नान्डेज जस्ता खेलाडी छन् भने स्ट्राइकरमा कप्तान मेस्सीलाई जुलियन अल्भारेज, लौटारो मार्टिनेज र निकोलस गोन्जालेज लगायतका खेलाडीले साथ दिनेछन्।



