बाजुरा । बाजुरा जिल्लाको पूर्वी-उत्तरी भेगमा अवस्थित बुढीनन्दा नगरपालिका–१, भारती कौशाडीमा रहेको पादुका माध्यमिक विद्यालय बाढी र पहिरोको दोहोरो चपेटामा परेको छ। गत जेठ १२ गतेको मुसलधारे वर्षासँगै विद्यालयको माथिल्लो भागबाट खसेको पहिरो र तल्लो क्षेत्रमा रहेको खोलाको तीव्र कटानका कारण विद्यालयको अस्तित्व नै सङ्कटमा परेको हो। भौतिक संरचनामा क्षति पुगेपछि अचेल यहाँका विद्यार्थी र शिक्षकहरू भयभित वातावरणमा पठनपाठन गर्न बाध्य छन्।
भौगोलिक रूपमा भिरालो जमिनमा रहेको यस विद्यालयमा वर्षा हुनासाथ माथिबाट ढुङ्गा र पहिरो खस्ने तथा तलबाट खोलाले जग नै कटान गर्ने गरेको स्थानीय विद्यार्थी रामबहादुर कार्कीले दुखेसो पोखे। “पानी पर्न थालेपछि कुन बेला के हुने हो भन्ने डरै डरमा पढ्नुपर्छ,” कार्कीले भने।
मनसुनको सुरुवातसँगै विद्यालयको शैक्षिक वातावरण नराम्ररी प्रभावित भएको प्रधानाध्यापक नैन कार्कीले बताए। हालैको पहिरोले कक्षा १० र ११ का कोठाहरूमा क्षति पुर्याइसकेको उल्लेख गर्दै उनले भने, “अहिले सुरुवाती वर्षामा त यस्तो बिचल्ली छ, असार-साउनको भेलमा विद्यालय कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ।” भौतिक पूर्वाधारको पहिलेदेखि नै अभाव रहेको यस विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने उच्च माध्यमिक तहमा भर्ना अभियान अझै जारी छ।
प्राकृतिक विपत्तिको यो असर विद्यालयमा मात्र सीमित छैन। बुढीनन्दा नगरपालिका–१ का वडा अध्यक्ष मानबहादुर कार्कीका अनुसार गत वर्ष स्थानीय, प्रदेश र सङ्घीय सरकारको लगानीमा निर्मित विभिन्न भौतिक पूर्वाधारहरू समेत यो बाढीपहिरोले सखाप पारेको छ।
“गाउँका धेरै बस्तीहरू जोखिममा छन्, विद्यालय पुग्ने गोरेटो बाटोसमेत भत्किएकाले बालबालिकालाई विद्यालय आउन-जानै सास्ती छ,” वडा अध्यक्ष कार्कीले थपे, “धेरै परिवारहरू विस्थापित भइसकेका छन्। उनीहरूको तत्काल गाँसबास र विद्यालयको संरक्षणका लागि प्रदेश तथा सङ्घीय सरकारले विशेष राहत र पुनःस्थापनाका प्याकेज ल्याउनु जरुरी छ।”



