काठमाडौैं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी पाँच वर्षका लागि विकासको नयाँ मार्गचित्र तयार पारेको छ। प्रदेश विकास परिषद्को चौथो बैठकले आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म कार्यान्वयन हुने ‘दोस्रो पञ्चवर्षीय योजना’ को मस्यौदालाई स्वीकृत गरेको हो। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको परिषद्को बैठकले पारित गरेको यो रणनीतिक मस्यौदालाई अब अन्तिम स्वीकृतिका लागि प्रदेश मन्त्रिपरिषद्मा पेस गरिने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए।
प्रदेश नीति तथा योजना आयोगले निकै सघन गृहकार्यपछि यो पञ्चवर्षीय योजनाको खाका तयार पारेको हो। पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, सङ्घीय सरकारको १६ औँ योजना, संवैधानिक तथा कानुनी व्यवस्था, आर्थिक सर्वेक्षण र विभिन्न सरोकारवालाहरूबाट प्राप्त राय–सुझावलाई आधार मानेर यसको मस्यौदा कोरिएको हो।
यस पञ्चवर्षीय योजनाले ‘समुन्नत सुन्दर सुदूरपश्चिम’ लाई आफ्नो दीर्घकालीन दूरदृष्टि बनाएको छ भने प्रदेशका नागरिकको जीवनस्तर सुधार गरी गुणस्तरीय जीवन सुनिश्चित गर्नुलाई प्रमुख लक्ष्य राखेको छ। आगामी पाँच वर्षभित्र उत्पादन तथा उत्पादकत्व बढाउने, गरिबी घटाउने, नयाँ रोजगारी सिर्जना गर्ने, भौतिक पूर्वाधार सुदृढ गर्ने तथा स्वास्थ्य र शिक्षामा आमूल सुधार गर्दै सुशासन प्रवर्धन गर्ने उद्देश्य योजनाले बोकेको छ।
जलवायु परिवर्तनका चुनौतीसँग जुध्न अनुकूलन कार्यक्रम, जैविक विविधताको संरक्षण र विपत् जोखिम न्यूनीकरणलाई यस पटक विशेष प्राथमिकतामा राखिएको छ। शिक्षा क्षेत्र तर्फ रोजगारमुखी, गुणस्तरीय र समावेशी उच्च शिक्षाको विकास गर्ने नीति लिइएको छ, जसमा छात्रवृत्ति वितरण, प्रविधिमैत्री शिक्षण प्रणाली र अनुसन्धान तथा सीप विकासलाई जोड दिइनेछ।
समग्रमा कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने, यातायात, ऊर्जा, खानेपानी र सूचना प्रविधि पूर्वाधारको सञ्जाल विस्तार गर्ने र सामाजिक न्यायसहितको समान पहुँच पुर्याउने रणनीति यस योजनामा समाविष्ट छ। प्रदेश सरकारले यो पञ्चवर्षीय योजनालाई सुदूरपश्चिमको दिगो विकास, प्रविधिमैत्री रूपान्तरण र समावेशी समृद्धिको बलियो आधार–दस्ताबेज मानेको छ।



