डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका दुई जना व्यक्तिहरू सोमबार मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेहरूमा सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र उनका स्थानीय मामा तीर्थबहादुर थापा मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापा मगरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा पानीमा तैरिरहेको अवस्थामा भेटिएको हो। यसै गरी, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान पुन मगरको शव भने बगेर कञ्चनपुर पुगेको अवस्थामा फेला परेको छ। उनको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।
नाताले मामाभान्जा पर्ने उनीहरू शुक्रबारदेखि अचानक बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब (पानीमा तैरिन प्रयोग गरिने साधन) फेला परेपछि नदीले बगाएको हुनसक्ने अनुमानका साथ व्यापक खोजी सुरु गरिएको थियो। सोही खोजी अभियानका क्रममा दुवै जनाको शव फरक-फरक स्थानमा भेटिएको हो। प्रारम्भिक अनुमान अनुसार नदीले बगाएर भान्जा ओमप्रकाशको शवलाई कञ्चनपुरको ब्रह्मदेव क्षेत्र पुर्याएको हुनसक्ने देखिएको छ। यस दुःखद घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।



