कैलाली र कञ्चनपुरबाट लाखौँ मूल्यका तस्करीका सामान बरामद

प्रकाशित मिति:

कैलाली । सुदूरपश्चिमका दुई सीमावर्ती जिल्लाहरू कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका अवैध सामानहरू बरामद गरेको छ। आइतबार प्रहरी टोलीले गरेको नियमित गस्ती र निगरानीका क्रममा बेवारिसे अवस्थामा छाडिएका लाखौँ मूल्य बराबरका सामग्रीहरू नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतका इकाइहरूबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–४ स्थित बसपार्क तथा दोधाराचाँदनी नगरपालिका–३ को न्याउलीघाट क्षेत्रबाट अवैध सामान समातेको छ। भारतबाट भन्सार राजस्व छलेर ल्याइएका अन्दाजी २ लाख ३५ हजार १०० रुपैयाँ बराबरका तरकारी, पेय पदार्थ, कुरकुरे, पापड, माछा र तस्करीमा प्रयोग भएको एक थान मोटरसाइकल प्रहरीले जफत गरेको हो।

यसै गरी, कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार कार्यालय नजिकैको क्षेत्रबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ। प्रहरी चौकी त्रिनगरको टोलीले बेवारिसे अवस्थामा फेला पारेका अन्दाजी ३१ हजार ३५० रुपैयाँ मूल्य बराबरका चिनी, खाने तेल, ग्यास लाइटर, साडी, सुटपिस तथा अन्य किराना सामानहरू कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको छ। बरामद गरिएका सबै सामानहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार