सुदूरपश्चिममा २४ घण्टाभित्र १९ जना पक्राउ, लाखौँको सामान बरामद

प्रकाशित मिति:

धनगढी सुदूरपश्चिममा शान्ति सुरक्षालाई थप मजवुत बनाउन प्रहरीले सक्रियता बढाएको छ। पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशका विभिन्न जिल्लामा चलाइएको विशेष सुरक्षा जाँच तथा कारबाहीका क्रममा प्रहरीले महत्वपूर्ण सफलता पाएको हो।

विशेष गरी अवैध धन्दा, लागूऔषध ओसारपसार र अदालती फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर प्रहरी टोली परिचालन गरिएको थियो। सो क्रममा प्रतिबन्धित खैरो हेरोइन (ब्राउन सुगर) १४ ग्राम ७६० मिलिग्राम र नाइट्राजेपाम चक्कीसहित लागूऔषध कारोबारमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ। यसैगरी, विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका ९ जना फरार अभियुक्तहरूलाई समेत खोजी गरी हिरासतमा लिइएको छ।

सीमावर्ती क्षेत्र तथा बजार इलाकामा गरिएको निगरानीका क्रममा भन्सार राजस्व छलेर भित्र्याइएका ३ लाख ९३ हजार ३० रुपैयाँ मूल्य बराबरका विभिन्न गैरकानुनी सामग्रीहरू बरामद भएका छन्। साथै, सडकमा विना कागजात गुडिरहेका ९ वटा मोटरसाइकललाई समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

ट्राफिक व्यवस्थापन र सडक अनुशासनलाई कडाइ गर्ने क्रममा नियम मिच्ने सवारी चालकहरूमाथि पनि कारबाही तीव्र पारिएको छ। २४ घण्टाभित्र भएका ट्राफिक कारबाहीबाट १ लाख ९ सय रुपैयाँ जरिवाना रकम (राजस्व) दाखिला भएको छ।

प्रदेश प्रहरी कार्यालयले समाजलाई अपराधमुक्त बनाउन आम नागरिकको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने स्पष्ट पारेको छ। जनसहभागिता विना शान्ति सुरक्षा असम्भव हुने भन्दै प्रहरीले कुनै पनि शङ्कास्पद घटना वा सूचना भएमा प्रहरी कन्ट्रोलको हटलाइन १०० वा ट्राफिकको १०३ मा तत्काल खबर गरिदिन सर्वसाधारणसँग अनुरोध गरेको छ।

ताजा समाचार